प्रभात संगै
म उठ्दा
मुस्कुराउँदै मलाई हेरि रहने
त्यो मेरो झुपडी
आज पनि
पानी छछल्किए झै
सम्झनामा
लाग्छ आज पनि मलाई
हर सन्ध्यामा
सदा जस्तै आउने अभिलाषा बोकेर
मुस्कुराउँदै बाटो हेरी रहेको होला
बर्सातको सारथी त्यो छानो
अनि हुरीबतासको सखी
ती भित्ताहरूले
मलाई सोधिरहेको हुनुपर्छ
मेरो झुपडीको मूल खाँबोले
हर बिहानी बोलाइरहे जस्तो लाग्छ
म अनि मेरा सुन्दर फूलहरू
खेल्ने त्यो आगन
आज एक्लो भएको छ
मेरी अर्धाङ्गिनीले
पिठ्युँमा बोक्ने गाग्रीले
पलपल सहारा खोजी रहेछन्
हर दिन मुस्कुराउँदै
अत्तर छर्ने गुलाब अनि मखमली
आज मालीबिहिन भएका छन
बिस्तराले सायद
हर रात सपनीमा
मलाई खोजी रहेको होला
तर अपसोच…..
न त म त्यो आगन टेक्न सक्छु
आखिर त्यो आकाश
उकाली ओराली गर्ने
कयौं गोरेटाहरू
मगमगाउदै अत्तर छर्ने
ती सुन्दर बगैँचाका
रङ्गिन फूलहरू
आज बिराना भइसकेका छन
थाहा छैन खै
त्यो झुपडीको छानो
अझै उस्तै छ कि पुरानो भइ सक्यो
सायद पानी पँधेरोले पनि
मेरा गाग्रीहरू पर्खि रहेको होला
मेरा सखीहरूले मलाई खोजी रहेका होलान
अब त चाहेर पनि
त्यो झुपडी
कहाँ भेट्न सक्छु र
सक्छु त केवल
तिम्रो आवरणलाई सम्झन मात्र…
हरि उप्रेती- ओहायो